काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१-२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २-२ तथा सन्तोष यादवले एक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ४ बलमा १४२ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि जोन सिम्पसोनले सर्वाधिक ६० रन बनाए । उनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । जोन र मिलिन्दले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । मिलिन्दले ३८ रनको योगदान दिए । वेन चाल्र्सवर्थ १३, आकाश त्रिपाठी ४, रसिद खान ६, महोम्मद आदिल आलम ८, जेरार्ड एरास्मस ०, कप्तान करण केसी १, सन्तोष यादव ० र दीपेश कँडेल ६ रनमा आउट भए । शाहव आलम २ रनमा अविजित रहे ।
बलिङमा चितवनका सोहिल तन्विरले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर ४ विकेट लिएका हुन् । रञ्जित कुमार र कमलसिंह ऐरीले दुईदुई तथा रवि बोपाराले एक विकेट लिए ।
काठमाण्डुले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।




