काठमाडौं । टाइटानिक जहाज दुर्घटनामा परी मृत्यु भएका एक यात्रीको शवबाट प्राप्त भएको सुनको पकेट घडी ऐतिहासिक मूल्यमा लिलाम बिक्री भएको छ ।
उक्त घडीले लिलाममा १.७८ मिलियन पाउन्ड (३३ करोड २५ लाख २६ हजार रुपैयाँ) मूल्य पाएको बीबीसीले जनाएको छ ।
सन् १९१२ मा बेलायतको साउथह्याम्प्टनबाट अमेरिकाको न्युयोर्क गइरहँदा सो जहाज बरफको चट्टानसँग ठोक्किएर दुर्घटना भएको थियो । जसमा इसिडोर स्ट्रस र उनकी श्रीमती इदाको मृत्यु भएको थियो ।
इसिडोर स्ट्रसको शरीरबाट उक्त १८ क्यारेट सुनबाट बनेको ‘जुल्स जुर्जेन्सेन’ पकेट घडी भेटिएको थियो । एटलान्टिक महासागरमा केही दिनपछि इसिडोर स्ट्रसको शव भेटिएको थियो । तर, इदाको शव भने भेटिएको थिएन । उक्त दुर्घटनामा १५ सय जनाको मृत्यु भएको थियो ।
सो घटनापछि परिवारको संरक्षणमा रहेको उक्त घडी डेभाइजेसस्थित शनिबार आयोजित ‘हेनरी अल्ड्रिज एन्ड सन अक्सनर्स’ लिलाम घरमा बिक्री भएको हो ।
स्ट्राउस बावेरियामा जन्मेका इसिडोर स्ट्रस अमेरिकी व्यवसायी, राजनीतिज्ञ र न्यूयोर्कको मेसी डिपार्टमेन्ट स्टोरका सह–मालिक थिए ।
टाइटानिकका यात्रीहरूको सूची १ लाख ४ हजार पाउन्डमा बिक्री भएको छ भने बाँच्न सफल भएकाहरूद्वारा आरएमएस कार्पथियाको चालक दललाई प्रदान गरिएको स्वर्ण पदक ८६ हजार पाउन्डमा बिक्री भएको बताइएको छ । टाइटानिकसँग सम्बन्धित स्मृति चिह्नहरूको लिलामीले जम्मा ३० लाख पाउन्ड कमाएको छ




