काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।
यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको उनको भनाइ छ ।
संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने उनले बताएका छन् ।
“आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ,” नेपाल संवत् ११४६ को अवसरमा शुभकामना दिँदै उनले भने, “लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ ।”
आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा वि।सं। २०६५ मा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा घोषणा गरिएको उनले स्मरण गरे ।




