
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् ।
भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको जिकिर गरे ।
‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ,’ ओलीले भनेका छन्, ‘अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो, प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’
संसद् भंग नभए देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिएको समेत उनको भनाइ थियो ।
उनले पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने जिकिर गरे । उनले प्रधानमन्त्री हुनकै लागि कार्की २४ गते दिउँसो नै सडकमा उत्रिएको बताए ।
यस्तै ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।
ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।
‘‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला,’ उनले भने, ‘संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र रु पर्खनुपर्यो फागुन २१ गते रु पर्खनु परेको छैन ।’
प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे ।