काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उपचारका क्रममा उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला रौतहट लगिसकिएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा राखेर उपचार भइरहेको थियो ।
मिर्गौला फेल भएपछि डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति बम विष्फोट भएको घटनाका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको उनीमाथि आरोप लागेको थियो ।
सोही मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत वीरगन्जले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए ।
आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए ।
आलम २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । त्यसपछि उनी भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए ।
आलम विसं २०६७ को पार्टीको १२औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।




