भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ ।
‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बांगला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए ।
पण्डालमा सिनियर पुरुष, महिला तथा पूर्वराष्ट्रिय खेलाडीका गरी ३५ तस्बिर समावेश गरिएको छ । समितिका सदस्य पार्थ मण्डलका अनुसार, सन् २०२६ मा भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
“हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र सहयोगमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ,” उनले भने, “पण्डाल सबैले रुचाएका छन्, यस कार्यको प्रशंसा पनि गरेका छन् ।”
पण्डाल, बिजुली बत्ती र सांगीतिक कार्यक्रमलगायत करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ ।
कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारको सहभागितामा बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने समितिका सदस्य निर्मल घोषले जानकारी दिए ।
बंगाली समुदायका युवाले स्थापना गरेको क्लब बांगला भद्रपुरले अघिल्लो वर्ष केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो । उक्त क्लबले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गरी कालीपूजा गर्दै आएको समितिका सदस्य घोषले बताए ।




