काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेस्टुरेन्ट, कफीसप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जना हुने मन्त्री घिसिङले बताए ।
चेन्ज डिजिटलले काठमाडौंको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण आवश्यक रहेको बताए ।
चार्जिङ स्टेसन व्यवसाय गर्नका लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।
सन् २०३० सम्ममा कुल निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीय सवारी पुर्याउने लक्ष्य राखिएको छ ।
सन् २०३५ मा यो प्रतिशत वृद्धि गरी क्रमशः ९५ र ९० प्रतिशत पुर्याउने लक्ष्य छ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८०० सयवटा चार्जिङ स्टेसन सञ्चालित छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फन्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेन्ज फन्डमार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ । केन्द्रबाट १८ वटा कम्पनीसँग ४५ वटा आयोजनामार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ । ल




