काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिइएको छ । फाँसी दिइएका व्यक्तिको नाम बाबक शहबाजी हो ।

सामाजिक कार्यकर्ता र मानवअधिकार संगठनहरूले उनलाई यातना दिइएको आरोप लगाएका छन् ।

तेहरानस्थित ‘मिजान’ समाचार एजेन्सीका अनुसार, शहबाजीले डाटा सेन्टर र सुरक्षा प्रतिष्ठानहरूसँग सम्बन्धित संवेदनशील जानकारी इजरायली एजेन्टहरूलाई उपलब्ध गराएको र बेचेको आरोप छ ।

तर, मानवअधिकार कार्यकर्ता र संगठनहरूले यो दाबीलाई अस्वीकार गर्दै शहबाजीलाई झुटा आरोपमा फसाइएको बताएका छन् । उनका अनुसार, अधिकारीहरूले यातना दिएर अपराध स्वीकार गर्न दबाब दिएका थिए र त्यसपछि मृत्युदण्ड सुनाइएको थियो ।

इरानका सामाजिक तथा मानवअधिकार कार्यकर्ताहरूका अनुसार, शहबाजीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पत्र लेखेको आरोपमा प्रारम्भिक रूपमा हिरासतमा लिइएको थियो ।

उनले पत्रमार्फत रुसविरुद्धको युद्धमा सहयोग प्रस्ताव गरेको भनिएको छ । इरानले हालसम्म रुसलाई ड्रोन उपलब्ध गराउँदै आएको छ, जसको प्रयोग युक्रेनमाथि आक्रमणमा भएको छ ।

फाँसी हुनुअघि नै ‘इरान ह्युमन राइट्स’ नामक संगठनले शहबाजीलाई मृत्युदण्डको सजाय हुन सक्ने चेतावनी दिएको थियो । संगठनका अनुसार, शहबाजीको पत्रलाई इरानी अधिकारीहरूले इजरायलका लागि गरिएको जासुसीका रूपमा प्रस्तुत गर्दै प्रमाणको रूपमा प्रयोग गरेका थिए ।

शहबाजीको घटनापछि अन्तर्राष्ट्रियस्तरमा चिन्ता बढ्न थालेको छ । यसअघि पनि इरानले इजरायलसँग १२ दिनसम्म चलेको संघर्षपछि आठजनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिएको थियो । उक्त संघर्षका क्रममा इजरायली हवाई आक्रमणमा करिब ११ सय इरानी नागरिक मारिएका थिए, जसमा धेरै उच्चपदस्थ सैन्य कमाण्डरहरू पनि थिए ।

मानवअधिकार कार्यकर्ताहरूले इरानले ठूलो संख्यामा फाँसीको सजाय दिएर देशभित्र त्रासको वातावरण सिर्जना गर्न सक्ने डर व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय