
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धन आवश्यक रहेको औंल्याएका छन् । कांग्रेसलाई बलियो बनाउन र पार्टी भित्रका सबै नेताले नेताले जित्नका लागि स्थानीय निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका हुन् ।
शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् ।
अहिले पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र नेकपा (माओवादी केन्द्र) मिल्ने सम्भावना रहेको भन्दै देउवाले निर्वाचनमा गठबन्धन आवश्यक हुने बताए ।
आफ्नो कर्तव्य भनेको नै पार्टीलाई जिताउनु भएको जिकिर गर्दै गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको र पार्टीको हितका लागि नै काम गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले बीपी र सुवर्णशमशेरदेखि नै कांग्रेसभित्र गुट रहेको भन्दै तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क समेत गरेका छन् । संसद् विघटन गर्दा नै आफू निर्वाचनको पक्षमा रहे पनि संसद् पुनःस्थापनापछि सबैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताए ।
पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रूपमा लिएको कांग्रेस सभापति देउवाको भनाई थियो । साथै उक्त कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।