
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा भेटिएको एउटा बिरुवा संसारकै सबैभन्दा विषालु रहेको पाइएको छ । यसलाई गिनिज बुक अफ द वर्ल्ड रेकर्ड पनि सबैभन्दा विषालु बोट भनेर दर्ता गराएको छ ।
फ्लोरिडाको एभरग्लेड दलदली इलाकामा पाइने मान्सानेल नाम गरेको यो बोट आकारमा झण्डै आप वा स्याउको बोटजस्तो छ । यसमा स्याउजस्तै फल पनि लाग्छ । तर, यो स्याउ खायो भने एकै छिनमा मानिसलाई कठोर पीडा मात्रै हुन्न, मानिसको ज्यानै पनि जान्छ ।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यसको चोपको सम्पर्कमा आएको खण्डमा छालामा कडा जलन महशुस हुन्छ । फ्लोरिडा विश्वविद्यालयको शोध अनुसार यो रुखको फल र चोपदेखि हरेक भाग विषालु छ ।
यतिमात्रै होइन यो रुखबाट प्राप्त दाउरा बालेको खण्डमा धुँवा आँखामा गएमा अन्धोपन समेत हुने गर्छ । स्थानीय भाषामा यसलाई ‘मृत्युको सानो स्याउ’ भन्ने गरिएको फ्लोरिडाको मायमीमा रहेको एनबीसी टेलिभिजन स्टेसनको अनलाइन संस्करणले जनाएको छ ।