
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय निर्वाचनमा हलो चुनाव चिन्ह नदिए चुनाव बहिष्कार गर्ने चेतावनी दिएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिन्ह हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका हुन् । आज बर्दियामा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले चुनाव चिन्ह हलो नपाए चुनाव अवरोध गर्ने चेतावनी दिएका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देनले आफ्नै चुनाव चिह्न दिएर द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् । उनले आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई हलोमै मतदान गर्न पाउने आश्वासन दिएका छन् ।
राष्ट्रिय मान्यता पाएका दलबाहेक अरु दलका उम्मेदवारलाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार मान्न सक्ने कानुनी व्यवस्था छ । त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले अरु नै चुनाव चिह्न पनि दिन सक्नेछ ।
राजनीतिक दलसम्बन्धी ऐनमा भएको यो व्यवस्था विभेदकारी रहेको भन्दै राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अरु दलले विरोध जनाइरहेका छन् ।
हाल नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी मात्र राष्ट्रिय मान्यता प्राप्त दल छन् ।