काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुटाएको दाबी गरेका छन् । आज राप्रपा नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूले पुरानो पार्टी (राप्रपा नेपाल)लाई पुनर्जागृत गरेको दाबी गरेका छन् ।

‘०७६ फागुनमा महान ग्रन्थ गीता छोएर मैले राप्रपा कहिले नफुटाउने कसम खाएको सम्झना छ । धार्मिक र आध्यात्मिक राप्रपा मैले फुटाएको होइन । मैले चाहेको भए अहिले पनि राप्रपामा हामीप्रति स्नेह, सद्भाव र समर्थन राख्ने बहुसंख्यक केन्द्रीय सदस्य हुनुहुन्थ्यो,’ उनले भने, ‘साथीहरुले विधान र कानुन बमोजिम ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाउँ भन्ने सल्लाह पनि दिनुभएको थियो, तर मैले चाहेनँ । पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्नेमा म विश्वास राख्दिनँ।’

उनले राप्रपामा आफ्नो एउटा सामान्य मागलाई रद्दीको टोकरीमा फाल्ने काम भएको र एकपक्षीय र पूर्वाग्रह हिसाबले पार्टी सञ्चालनको काम भएपछि आफूले पार्टी छोडेको बताएका छन् । उनले आफूलाई राजनीतिक रुपमा नै समाप्त गर्ने प्रयास भएपछि वाध्य भएर राप्रपा छोडेको पनि बताएका छन् ।

अध्यक्ष थापाले राजसंस्थाले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको समेत आरोप लगाएका छन् । राजधानीमा आयोजित पार्टी घोषणा सभामा बोल्दै अध्यक्ष थापाले राजसंस्थाले गुट बोकेर हिंडेको र अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् । राप्रपामा राजेन्द्र लिङदेन अध्यक्षमा विजयी भएपछि थापाले हेटौंडा पुगेर पार्टी परित्यागको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय