
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाइले पनि समर्थन जनाएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै पहिलो चरणको विरोध सकेर दोस्रो चरणको तयारीमा रहेको नेपाल बारलाई आन्दोलन फराकिलो पार्न इकाईका पदाधिकारीले सुझाव दिएका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सोमबार कार्यालय परिसरमा गरेको विरोध कार्यक्रम । तस्बिर स् अंगद ढकालरकान्तिपुर
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सुरु गरेको विरोधको दोस्रो चरणमा कसरी अगाडि बढ्ने भनेर आइतबार इकाईका पदाधिकारीसँग छलफल गरेको थियो । नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आइतबार २५ इकाईका २९ जना पदाधिकारीको सुझाव लिइएको छ । सोमबार पनि बारका इकाईका पदाधिकारीबाट सुझाव लिने क्रम जारी रहनेछ । ४० इकाईका पदाधिकारी जोडिएकोमा बोल्ने इकाईका पदाधिकारीले धेरै समय लिएकाले एकै दिनमा सुझाव लिने कार्यक्रम नसकिएको उनको भनाइ थियो ।
बारले गरेको निर्णयमा साथ र सहयोग रहन्छ भनेर प्रतिबद्धता जनाउनुभएको छ । बार इकाईका अध्यक्ष र सचिवहरूले सुझाव दिने क्रममा प्रधानन्यायाधीशले राजीनामा नगरेसम्म आन्दोलन गर्नुहोस् हाम्रो साथ रहन्छ भन्नुभएको छ, महासचिव पौडेलले भने ।
न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा एकमात्र विकल्प भएको इकाईका पदाधिकारीले सुझाव दिएको र त्यसभन्दा तल रहेर सम्झौता नगर्न इकाईका पदाधिकारीले सुझाव दिएको पनि उनले उल्लेख गरे । बारले आन्दोलन विस्तार गर्नुपर्ने र त्यसमा न्यायालयका उपभोक्ताहरूको हित पनि हेर्न सुझाव दिएको पौडेलको भनाइ थियो ।
एकैचोटी सबै अदालत ठप्प पार्ने किसिमले कार्यक्रम नल्याउनुस् । आन्दोलन फराकिलो पारौं । प्रधानन्यायाधीशको इजलासमा बहस गर्न हुन्न भन्ने सुझाव आएका छन्, पौडेलले भने, इकाईका अधिकारीले सम्झौता नगर्न भन्नुभएको छ । अब प्रधानन्यायाधीशलाई तपाईंको फैसलामा विश्वास रहेन भन्नुपर्ने उहाँहरूको सुझाव थियो । उहाँको इजलासमा बहस पनि नगर्नुस् भन्नुभयो ।
प्रधानन्यायाधीशको राजीनामाको माग राखेर कुनै एक दिन मुलुकभरका अदालत ठप्प पार्न तयार रहेको र त्यसका लागि कार्यक्रम ल्याउन सुझाव आएको पनि उनले उल्लेख गरे । दिनदिनै ठप्प पार्दा समस्या हुने भएकाले कुनै एक दिन सबै अदालत ठप्प पार्ने र बाँकी दिन निश्चित समय विरोध गर्ने कार्यक्रम ल्याउन सुझाव दिएको पौडेलको भनाइ थियो ।
विरोध कार्यक्रम देशभरीको पनि ल्याउनुस् भन्नुभयो । कुनै एक दिन नेपालभर ठप्प पार्नुपर्यो भने पारौंला भन्ने उहाँहरूको भनाइ थियो । दिनमा १(२ घण्टा कालोपट्टी लगाउने र विरोध जनाउने कार्यक्रम ल्याउनुहोला पनि भन्नुभएको छ, उनले भने ।
नेपाल बारका देशभर ९० इकाई छन् । अधिकांश बार इकाईसँग परामर्श गरेर आगामी कार्यक्रम तय गरिने महासचिव पौडेलले बताए । सर्वोच्च अदालतमा सोमबारबाट पनि पहिलेजस्तै अवस्था कायम रहने उनले भने । बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने र प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।
प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा न्यायिक विचलन ल्याएको, न्यायको मूल्यमा सौदाबाजी गरेको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेको भन्दै १९ न्यायाधीशले इजलास बहिष्कार गरेका छन् । उनीहरूले कात्तिक ८ गतेयता बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेका छैनन् । त्यस्तै, नेपाल बारले पनि प्रधानन्यायाधीशलाई राजीनामा गर्न भन्दै विरोधका कार्यक्रम गरिरहेको छ ।