
ग्लास्गो, स्कटल्याण्ड — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए ।
उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भयो, पौड्यालले भने ।
यसअघि देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बोलाएको ब्रेकफास्ट बैठकमा सहभागी भएका थिए । त्यसक्रममा देउवाले नेपालले वन क्षेत्र बढाएर ४५ प्रतिशत पुर्याउने योजना रहेको सुनाएको वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जनाए ।
प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षसंग पनि भेट गर्दैछन् । देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ ।