
०७ कार्तिक- नेपाल कम्युनिस्ट पार्टी एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले एकै दिन शनिबार देशभरका ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमालेले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन एकसाथ गर्ने घोषणा गरे पनि बाढी–पहिरो र डुबान प्रभावित जिल्लाका वडामा भने तत्कालका लागि वडा अधिवेशन स्थगित गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बाढी–पहिरो प्रभावित जिल्लाका वडा अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरिकै वडा अधिवेशन एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । सचिव तामाङले देशभर भएका वडा अधिवेशनले सबै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको बताउनुभएको छ । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच सदस्यीय पदाधिकारीसहित वडा कमिटी चयन गरेको छ । गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन हुनेछ ।
पाँच दलीय गठबन्धन प्रतिगामीस् ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाउनुभएको छ । उहाँले साढे तीन महिनामा सरकारको स्वेच्छाचारिता बढेको र प्रतिगामनको बाटोमा लागेको टिप्पणी गर्नुभयो । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न र कम्युनिस्ट सरकार ढाल्ने र प्रतिक्रियावादीको पाउमा सेवा गर्न पाँच दल अग्रसर भएको आरोप लगाउनुभयो ।
प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिँदै उहाँले प्रतिगमनविरुद्ध कार्यकर्तालाई डटेर सामना गर्न पनि निर्देशन दिनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढिरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने दाबीसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा हरेक तहमा सानदार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दाबी गर्दै ‘एमाले समाप्त हुन्छ’ भन्ने भ्रम मात्र रहेको बताउनुभयो । फरक प्रसंगमा ओलीले कांग्रेसले १४औं महाधिवेशन गर्न असफल भएको टिप्पणी गर्दै आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको भन्दै कटाक्ष गर्नुभयो । नेपाल समाचारपत्र दैनिकले लेखेको छ।