काठमाडौं – ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । र, यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।

यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले  बताए ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी हाल डीआईजी श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक एसपी विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक डीएसपीसञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । उनको शव बरामद भएपछि गरिएको अनुसन्धानका क्रममा ‘सुन तस्करीको हालसम्मकै ठूलो र्‍याकेट’बारे अनुसन्धान भएको थियो ।

सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।

त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।

३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेतीसँगै टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय