
काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ मन्त्रीलाई सकेसम्म आज सोमवारै शपथ ग्रहण गराइने बताएका छन् ।नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आजै शपथ गराउने कोसिस भइरहेको बताए ।
भेलामा धेरै बोल्न समय अभाव भएको बताउँदै प्रचण्डले भने, ‘मलाई समयको दबाब पर्या छ, एकातिर क्याबिनेट सकेसम्म आजै शपथ ग्रहण गराउने भन्ने कोसिस अझै पनि छ, नभए पनि आज टुंग्याउन भन्ने भएको हुनाले म छिटो जानुपर्ने अवस्था छ ।’
कम्युनिस्ट आन्दोलन विरोधी गठबन्धनविरुद्ध संघर्ष गर्न नयाँ गठबन्धन बनाइएको उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘नयाँ गठबन्धन, त्यसो उद्देश्य गणतान्त्रिक संविधानको रक्षा गर्नु, लोकतन्त्रको रक्षा गर्नु, राष्ट्रियताको रक्षा र स्वाधिनताको सुदृढीकरण गर्नु हो । त्यो प्रतिगामी, विघटनकारी, कम्युनिस्ट आन्दोलन विरोधी, विसर्जनवादी निरंकुश प्रवृत्तिविरुद्ध नयाँ संघर्ष गर्यौं र आजको स्थितिमा आइपुगेका छौं ।’