
काठमाडौं-अखिल क्रान्तिकारीले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ
क्रान्तिकारीको बिहीवारदेखि शुरू भएको २२औं राष्ट्रिय सम्मेलनको शुक्रवार दोस्रो दिन शुरू भएको बन्द सत्रमा प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहनुभएका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।
सम्मेलनले १ अध्यक्ष, ३ खुला उपाध्यक्ष, ४ समावेशी उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, प्रदेशबाट ८ सचिव, समावेशीबाट ५ सचिव र १ कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
शुक्रवारको बन्दसत्रमा नेकपा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अंगीकार गर्नुपर्ने शैक्षिक मुद्दा तथा आन्दोलनबारे प्रशिक्षण दिएका थिए ।
त्यसअघि बन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति भंग गर्दै बन्द सत्र सञ्चालन गर्नका लागि मिलन एमसी, क्षितिज सापकोटा, सुमन थुलुङ, वीरबहादुर थापा, पेमा लामा, भोला यादव, सामना श्रेष्ठ, जागृति पौडेल र नग्मा माली रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए ।
बन्द सत्रको हलमा अध्यक्ष तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनउपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीले जनाएको छ