
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसदमा नाराबाजी गरिरहेको नेकपा एमाले स्वयंम अनुपस्थित भयो। बालुवाटारमा बसेको बैटकमा सहभागी दलहरुले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक भइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे ।
तर बिहीबार पनि एमालेले संसदमा नाराबाजी गर्यो । बैठक सुरु हुनासाथ नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर नाराबाजी नरोकिएपछि महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश भयो र संसद बैटक १९ गते १ बजे अर्को बस्ने गरी स्थगित भएको छ ।
एमाले सांसद खगराज अधिकारीले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा र सभामुखसापकोटाले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीसँग एक्ला एक्लै भेट्नुपर्ने बताएका छन् । सभामुखसँग संसद भवनमै भेट भएको थियो, कानुनमन्त्री पनि हुनुहन्थ्यो । हामीले सभामुखलाई विपक्षी दलको नेतालाई भेट्नुस भन्यौं र कानुनमन्त्रीलाई पनि प्रधानमन्त्रीलाई विपक्षी दलको नेतालाई भेट्न आग्रह गर्नुस भन्यौं तर, त्यसो हुन सकेको छैन’ अधिकारीले भने ।
बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजानुको अर्को कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सहभागिता पनि भएको सांसद अधिकारीले बताए । आफूले यो पार्टी अवैधानिक भएको जिकिर गर्दै आएको भन्दै उनले त्यो दललाई वैधता दिने गरी आयोजित बैठकमा एमाले नजाने बताए ।
अर्को कारण चाहिँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुको निरन्तरता खोजेको अधिकारीले संकेत गरे । सत्तारुढ गठबन्धन र प्रधानमन्त्री देउवा अध्यादेशमार्फत भएका ५२ जनाको नियुक्ति खारेज गर्न लागि परेको भन्दै उनले भने, उहाँहरु अनेक उपाय गर्दै हुनुहुन्छ । तर थपे, ‘फेरि नियुक्ति हुँदैन किनभने विपक्षी दलको नेता त्यहाँ संवैधानिक परिषदको बैठकमा जानुहुन्न भन्ने जान्दा जाँदै किन निहुँ खोज्नुहुन्छ त्यसकारण व्यक्तिगत रुपमा भेट्नुस् त्यसपछि सर्वदलीय बैठक राख्नुस्, भनेका छौं ।’
सांसद अधिकारीले आफ्नो पार्टीको अध्यक्षसँग प्रधानमन्त्री देवउाले एक्लै भेटेपछि मात्रै संसदको अवरोधका विषयमा छलफल हुने पटक–पटक दोहोर्याए । उनजे भने, ‘प्रधानमन्त्रीजीले विपक्षी दलको नेतासँग किन वार्ता संवाद गर्न सनुहुन्न ’