
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ । आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो ।
एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभएको छ ।
आजको बैठकमा पनि एमालेले निरन्तर अवरोध कायमै राखेको थियो । संसदको गतिरोध हटाउने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले बोलाएको आजैको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन ।
सर्वदलीय बैठकमा शीर्ष नेताहरूले एमाले संवादबाट पनि भाग्न खोजेको हो कि भन्दै निष्कर्षसहितको वार्तामा बस्नुपर्ने बेला आएको बताएका थिए । साथै सर्वदलीय बैठकमा नेताहरूले एमालेले जिम्मेवार बन्नुपर्ने र संसदको गतिरोध हटाउनमा सहयोग गर्नुपर्ने उनीहरूको एकमत थियो ।