
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पार्टी फुटाउने प्रयोजनका लागि ल्याएको पुष्टि भएको बताउनु भएको छ । आज बिहान कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नियतपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको बताउनु भएको हो ।
ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कानुनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलकोविरुद्धको षड्यन्त्र भएको बताइएको छ ।
त्यस्तै संसद् अधिवेशन चलिरहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहे अन्यत्रबाट हुन नसक्ने पनि ओलीको सन्देश छ । यस्तै ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति जनाउनु भएको छ ।
यस्तै आजै नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आज विहान बालकोट पुगेका थिए । भेटमा ओलीले संसदको अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र संसद चलिरहेका बेला राष्ट्रपतिमार्फत खारेज गर्नु षडयन्त्रपूर्ण र बदनियतपूर्ण भएको बताउनु भएको हो ।