काठमाण्डौ – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । अध्यादेश सक्रिय रहँदा सत्ता गठबन्धनकै दल फुट्ने सम्भावना देखिएपछि आज सोमवारको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघिको ४० प्रतिशतको व्यवस्था हटाएर सरकारले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो ।

सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी फुटेका छन् । विशेषगरी जसपा सरकारमा जाँदा मन्त्री बन्न नपाउनेहरूले दल विभाजन गर्ने देखिएपछि अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने अडान राख्नुभएको थियो ।

अध्यादेश फिर्ताको निर्णयसँगै अब मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सहज भएको छ । मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि भोलि मङ्गलवार नै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको छ ।

प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय