
काठमाडौं- नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ, यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले भने ।
सो क्रममा उनले समितिले अध्ययनका क्रममा प्रतिवेदनमा औंल्याइएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खाणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवाद दिँदै अध्ययनले त्यस क्षेत्रको भूभाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने बताए । अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएका थिए ।
टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए ।
मन्त्रिपरिषद् बैठकले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो । राजधानी दैनिकमा खबर छ ।