
काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनुवाइ आज आजदेखि सुरु भएको छ ।
तस्करी मार्ग भएर अवैध रूपमा नेपाल भित्रिएको साढे ३३ केजी सुन खोज्ने क्रममा १८ फागुन ०७४ मा सनम शाक्यको हत्या भएपछि मोरङ प्रहरीले अनुसन्धान गरी पहिलोपटक १९ वैशाख ०७५ मा त्यसपछि थप तीनपटक मोरङ जिल्ला अदालतमा जम्मा ७७ जनाविरुद्ध दर्ता गराएको मुद्दाको आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।
सरकारी वकिलको कार्यालय मोरङका अनुसार देशकै चर्चित उक्त संगठित सुन तस्करी र मानव अपहरण तथा शरीर बन्धक र हत्या आरोपको मुद्दाको अन्तिम सुनुवाइमा सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता मनीषबाबु पोखरेल र तेजबहादुर सिँजाली मगरलगायतले अन्तिम बहस गर्दै छन् । नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका अलग–अलग कानुन व्यवसायीले बहस गर्नेछन् ।
मोरङ प्रहरीले सुरुमा मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीसहित पहिलोपटक ६३ जना, दोस्रोपटक र त्यसपछि थप तीनपटक गरेर जम्मा ७७ जनाविरुद्ध संगठित सुनतस्करी र सनम शाक्य हत्या आरोपमा मुद्दा दर्ता गराएको थियो । हालसम्म जम्मा आरोपीमध्ये ५५ जना अदालतमा हाजिर भए पनि २२ जना अझै फरार छन् ।
तत्काल पुर्पक्षका लागि थुनामा पठाइएका अभियुक्तहरू पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल सादा तारेखमा र रामकुमार तिवारी, प्रभात अग्रवाल, विमल पोद्दार,राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अक्बर र इम्तियाजलगायत उच्च अदालतबाट धरौटीमा छाडिएका थिए ।