काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाएका छन् । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले आज काठमाडौं बोलाएका हुन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसले सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य लेखक र अर्का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदल सदस्य रिजाल भने काठमाडौंमै छन् । कार्यदलले सदस्यता विवाद टुंगिएको भने पनि कार्यान्वयनमा भने सहमति जुट्न सकेको छैन । ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसक्दा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरुले बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने माग गरेपछि सभापति देउवाले कार्यदलका सदस्यहरुलाई काठमाडौं बोलाउन निर्देशन दिएको एक नेताले बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका अनुसार ९ असोजमा पालिका अधिवेशन हुने बताए । उनले बाँकी अधिवशेनका कार्यक्रमबारे केन्द्रीय निर्वाचन समितिले समयतालिका सार्वजनिक गर्ने बताए । हिमाली जिल्लामा भने पुरानै कार्यतालिका अनुसार दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने सहमति कांग्रेसमा भएको छ ।

प्रवक्ता शर्माले महाधिवेशनमा समावेशी प्रतिनिधित्वको विषयमा पनि छलफल भएको जानकारी दिए । उनले महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी रहेको जानकारी दिए । कार्यतालिका अनुसार अधिवेशनका कार्यक्रम नभएपछि मंसिर ९–१३ गतेका लागि निर्धारित केन्द्रीय महाधिवेशन प्रभावित हुनसक्ने आशंका कांग्रेस नेताहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय