
कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज शुक्रवार एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । लामा नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष हुनुहुन्छ । उहाँ कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।
साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ ग्रहण गराउनुभयो । बोहरा बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा एकीकृत समाजवादी को संयुक्त सरकार रहेको छ । सरकारमा नेकपा एकीकृत समाजवादीका सात र नेकपा माओवादीका चार जना सहभागी छन् ।