![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/07/deuba-mahanta-1242021032610-600x0-1.jpg)
श्रावण ६, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेसका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिएका छन् । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।
जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।