
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको बताए ।
आइतबार ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन समारोहमा अध्यक्ष नेपालले भने, ‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं । अनि सत्तामा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति पनि देखिरहेका छौं । र, कम्युनिष्ट पार्टीभित्रैबाट यस्ता खालका गैरसर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ । यस्ता चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुले काम गर्नुपर्छ ।’
उनले कम्युनिष्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । नेपालका कम्युनिष्ट पार्टीहरुले मात्रै वास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने अध्यक्ष नेपालको दाबी छ ।