
काठमाडौं भदौ २७ । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएर सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषय मिलाउन बाँकी रहेको बताए । उनले भोलि पुनः बैठक बसेर सहमति खोजिने बताए ।