
भाद्र २६, दाङ । दाङको बंगलाचुली गाउँपालिकामा किशोरामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
तीजको नाच हेर्न जाने क्रममा बिहीबार राति १७ वर्षीया किशोरीलाई उनीहरूले जंगलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारले उजुरी गरेपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको एसपी सुरेश काफ्लेले बताउनु भएको हो ।
यसैबीच, तुलसीपुरको अश्वारामा टेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २१ वर्षीय कृष्णबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी स्थानीय शेरबहादुर खड्का सामान्य घाइते भएका छन् ।
यस्तै, हापुरेदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सीले बाघमारेदेखि तीलबारी जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकललाई शनिबार शान्तिनगर ७ खैरेनीमा ठक्कर दिँदा शान्तिनगर गाउँपालिका–२ बाघमारेका ४८ वर्षीय मोटरसाइकलचालक रुद्रबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।