
भाद्र २३, काठमाडौँ । पार्टी गठन भएपछिको संघीय संसद्को पहिलो अधिवेशनका बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलमा छलफल गरेको छ । नेकपा (एमाले)ले नेकपा (एस) मा का १४ सांसद प्रतिनिधिसभा बैठकमा बसेमा अवरुद्ध गर्ने चेतावनी दिएपछि बसेको दलको बैठले संयमित भएर प्रस्तुत हुने निर्णय गरेको सांसद विरोध खतिवडाले जानकारी दिनुभएको छ ।
अहिलेको अवस्था आउनुमा एमाले अध्यक्ष केपी ओलीको दललाई व्यवस्थापन गर्न नसक्ने कुशलताको अभाव जिम्मेवार रहेको कुरा संसदीय दलले निष्कर्ष निकालेको पनि उनले बताए । स्थानीय निकायका प्रतिनिधि रोक्नबाट असफल भएको र पार्टी दर्ता गर्न नदिने योजना असफल भएर ओली विछिप्त भएको खतिवडाले बताए ।
संसद्को नियमावली र संविधानले सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा संसद्मा छलफल नहुने व्यवस्था रहेको स्मरण गराउँदै खतिवडाले भने, ’उनीहरू नै हामी १४ जनालाई निष्कासित गरिपाउँ भनेर सर्वोच्च अदालत गएका छन् । केपी ओलीलाई कानुन विधान संविधान लोकतान्त्रिक संस्कारसँग केही सम्बन्ध छैन । आफ्नो सत्ता गएको उन्माद छ त्यो उन्मादको अभिव्यक्ति हो भनेर विश्लेषण ग¥यौं संसद् चल्न नदिने भन्ने कुरालाई ।’एमालेले उठाएका कुराको प्रतिरोध गर्ने निर्णय भएको पनि खतिवडाले बताए ।
संयमतापूर्वक प्रतिवाद गर्ने र त्यसलाई पनि उत्तेजित गर्ने काम भएमा जस्तालाई तस्तै गर्ने खतिवडाको भनाइ थियो । ’हामी सांसद् नै आएका हौं । कोही दारा सिंह र कोही बंगरा सिंह भन्ने हुँदैन । हामी संसदीय मर्यादालाई पालन गर्न अधिकतम प्रयास गर्छौं । हामीमाथि अनेक ढंगका उत्तेजनात्मक गतिविधि गरिन्छ भन्ने हामी त्यसका लागि तयार हुन्छौं भन्ने कुरा भएको छ,’ उनले भने । नेकपा (एस) संसदीय दलको विधान मस्यौदालाई सुझावसहित पारित गरिएको र केन्द्रीय कमिटीमा पठाउने निर्णय भएको पनि खतिवडाले बताए । उनले केन्द्रीय कमिटीबाट पारित भएपछि सम्बन्धित ठाउँमा बुझाउने बताए ।