
२२ भदौ, एजेन्सी । म्यानमारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ । विराथु म्यानमारमा मुस्लिमविरोधी र सैन्यसमर्थित विचारका लागि परिचित छन् । यसअघि निर्वाचित सरकारले उनीविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरेको थियो ।
रोहिंग्या समुदायविरोधी अभिव्यक्तिका कारण उनलाई ‘बुद्धिष्ट बिन लादेन’ भन्ने गरिएको छ । पछिल्ला केही वर्षहरूमा उनले नेतृ आङ सान सुकी र सरकारमा रहेको नेसनल लिग फर डेमोक्रेसी पार्टीको आलोचना गर्दै आएका थिए ।
सन् २०१९ मा निर्वाचित सरकारप्रति घृणा अवहेलना फैलाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । केही समय फरार रहेका उनले नोभेम्बरमा आत्मसमर्पण गरेका थिए ।
तर, यो वर्षको फेब्रुअरीमा सेनाले ‘कु’ गरेपछि विराथुविरुद्धको मुद्दा फिर्ता लिएको छ । सैन्य सरकारले मुद्दा फिर्ता लिनुको कुनै कारण खुलाएको छैन। उनको सैन्य अस्पतालमा उपचार भइरहेको भनिए पनि थप स्पष्ट पारिएको छैन।