पर्सा- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले कम्युनिस्ट पार्टीका केही नेताहरूले आफ्ना स्वार्थपूर्तिका लागि एमाले विभाजन गरेको आरोप लगाएका छन्। नेकपा एमाले पर्साद्वारा आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवाली अहिले पनि नेकपा एमालेसँग एक्लै भिड्ने हैसियत कुनै पार्टीसँग नभएको बताए।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि पाँच दल मिलेर गठबन्धन गरेर सरकारमा गएर मिलिजुली बाँडेर खानेबाहेक अरू केही नगर्ने ज्ञवालीले बताए। पूर्वमन्त्री ज्ञवालीले एमालेसित लड्नका लागि पाँचवटा दलले गठबन्धन बनाउनुपरेको बताउँदै उक्त गठबन्धनलाई अवसरवादी गठबन्धन भएको आरोप लगाए।

करिब ४१ महिने कार्यकालमा ओलीले सडक निर्माण, हुलाकी राजमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य, कृषि, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएको बताए। नेता ज्ञवालीले करिब १५ महिना विश्वभर फैलिएको कोभिडकै कारण नेपालका विकास निर्माण कार्य अगाडि नबढेकोमा दुस्ख व्यक्त गरे।

केपी ओलीको लोकप्रियता देखेर प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालजस्ता नेता आत्तिएर एमालेविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए। उनले केपी आलीको नेतृत्वको सरकारले अलगवादी नेता सिके राउत, सशस्त्र द्वन्द्व गरिरहेका विप्लव समूहलाई नेपालको राजनीतिको मूलधारमा ल्याएको बताएका थिए। नेता ज्ञवालीले आउने चुनावमा एमाले पुनः ठूलो दल बन्ने र नेपाली जनताका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय