
२१ भदौ, काठमाडा । गए रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाकाकै विभिन्न स्थान डुबेको छ । अविरल वर्षापछि काठमडौंका विभिन्न खोला तथा नदीमा ठूलो बाढी आएका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् ।
काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो । उनका अनुसार बाढीले उपत्यकाकाका ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ। जसमा काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको छ । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ ।
उता अविरल वर्षाले बागमती को किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले दिए । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।
पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको बागमती किनार क्षेत्रसमेत डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।
बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ । बाढीबाट करीब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ । यस्तै बाढीले शंखमूल पार्क लगायतका क्षेत्र पनि डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।
बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।