
काठमाडौं- धनगढी- नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ। आइतबारसम्म नेकपा एस को पक्षमा १३ जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन्। आइतबार मात्र नेकपा एस को पक्षमा तीन जनाले सनाखत गरेका छन्। यसअघि भदौ १५ गते १० जनाले नेकपा एस को पक्षमा सनाखत गरेका थिए।
अब नेकपा एस र नेकपा माओवादी केन्द्रका दुई दल समान हैसियतका प्रमुख दल बनेका हुन्। माओवादी केन्द्रका पनि १३ जना प्रदेश सभा सदस्य छन्।
यसअघि नेकपा एमालेका २४ जना सभामुख बाहेक प्रदेश सभा सदस्य रहेका थिए। प्रदेश सभामा नेपाली कांग्रेसका १२, एमालेका ११ र तत्कालीन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन्। तत्कालिन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन।
सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहने व्यवस्था छ । एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरालाई हटाएपछि अब प्रदेश सभामा ५२ जना प्रदेश सभा सदस्य रहेका छन्।