काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले सर्वसम्मतरुपमा संसदीय दलको विधान पारित गरेको छ । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो । प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये बहुमत सांसदहरु उपेन्द्र यादवको पक्षमा छन् ।
यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर, अहिले महतो अल्पमतमा परिसकेका छन् । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । आयोगले विवाद टुंगो लगाएपछि साउन १० गतेपछि जसपाले सरकारमा सहभागिता जनाउने भएको छ ।