काठमाडौं – विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए ।

अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बुझिएको छ ।

मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ । तर विवेकशील साझाको विधान अनुसार मिश्र र पाण्डेले बोलाएको दुवै बैठक अवैधानिक छ ।

तर प्रवक्ता पाठकले भने अध्यक्षले बोलाएको बैठक वैधानिक हुने बताए । उनका अनुसार बैठकको वैधानिकताबारे निर्वाचन आयोग र कानुनविद्सँग सरसल्लाह गरिएको छ ।

उनले भने, ‘पार्टीमा गतिरोध उत्पन्न भएको अवस्थामा त्यसलाई फुकाउन कार्यकारी अध्यक्षले बोलाएको बैठक वैधानिक हो ।’ दाहालका अनुसार अध्यक्ष मिश्रले पाण्डे समूहले अगाडि सारेका ११ एजेण्डा अस्वीकार गरेपछि छुट्टाछुट्टै बैठक बस्ने अवस्था आएको छ । मिश्रले सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहका सन्दर्भमा केन्द्रीय कमिटी बैठक निर्णय लिनु खोजेपछि विवाद थप चर्किएको देखिन्छ ।

उनले भने, ‘अध्यक्ष र संयोजकले महाधिवेशनका लागि एउटा राजनीतिक दस्तावेज लेख्ने प्रयास गर्नुपर्छ । त्यहाँ सहमति नभए महाधिवेशनमा दुई वटा प्रस्ताव लिन सकिन्छ । उहाँले त्यो बाटोमा जान खोज्नु भएन ।’ १३० सदस्यीय केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको रहको मिश्र समूहको दाबी छ ।

विवेकशील र साझाबीच एकता हुँदा ६५–६५ जना गरी १३० सदस्यीय केन्द्रीय कमिटी बनेको छ । त्यसमा तत्कालीन साझाका केशव दाहालसहित केही नेता पाण्डे समूहमा लगेका छन् । यता तत्कालीन विवेकशीलका तत्कालीन महासचिव निर्देश सिलवाललगायत नेताहरू मिश्र समूहमा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय