रामेछाप – रामेछापमा रहेको एकमात्र आँखा अस्पताल जिल्ला सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षति पुर्‍याएपछि स्वास्थ्यकर्मीहरूले भान्साघरमा राखेर बिरामीको आँखाको उपचार गर्न सुरु गरेका छन् ।

गएको भदौ १३ गतेको वर्षाका कारण आएको पहिरोले आँखा केन्द्रको भवनमा क्षति पुर्‍याएपछि सेवा बन्द गरिएको थियो । भवन अभावमा आँखा जाँच गर्न आउने बिरामीहरू राखेर उपचार गर्ने ठाउँ नभएपछि अहिले भान्साका लागि बनाइएको एउटा एउटा कोठाबाट उपचार सेवा सुरु गरिएको तामाकोसी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

टाढा–टाढाबाट आँखाको उपचार लिन आउने बिरामीहरूलाई उपचारविना नै फर्काउनुभन्दा तत्कालका लागि भान्सा तथा चमेना गृहका लागि निर्माण गरिएको एक कोठे भवनबाट सेवा दिइएको घिमिरेले बताउनुभयो ।

तामाकोसी अस्पतालमा आँखा जाँच गराउन आउनेको सङ्ख्या बढ्दै गएपछि स्व। जगदीश घिमिरेको पहलमा २०५७ सालमा तिलगङ्गा आँखा अस्पताल काठमाण्डौको सहयोगमा तामाकोसी अस्पताल परिसर रामेछापमा सामुदायिक आँखा केन्द्रको स्थापना भएको थियो । ​अस्पतालले केही वर्षअघि मात्रै ५० लाख रुपैयाँको लागतमा प्रिफ्याब भवन निर्माण गरी त्यही भवनबाट आफ्नो सेवा दिँदै आएको थियो ।

सामुदायिक आँखा केन्द्रमा अहिले रामेछापका साथै दोलखा, सिन्धुली, ओखलढुङ्गा र सोलुखुम्बुलगायतका जिल्लाबाट समेत नागरिकहरू आँखा जचाउन आउने गरेका छन् ।

यस आँखा केन्द्रमार्फत अहिलेसम्म रामेछापका चार हजार जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज उमेश तामाङले जानकारी दिनुभयो ।

तामाङ भन्नुहुन्छ, ‘अहिले दैनिक झन्डै ३५ देखि ४० जनासम्म सेवा लिन आउने गरेका छन् । आँखाको जाँच गर्न टाढा–टाढाबाट वृद्धवृद्धाहरू बढी मात्रामा आउने भएकाले उनीहरूलाई जसरी भए पनि उपचार गराएर पठाउनका लागि भान्साघरबाटै सेवा सुरु गरेका हौँ । ’


पहिरोले क्षति पुगेको भवनको निरीक्षणका लागि तिलगङ्गा आँखा अस्पतालबाट प्राविधिकसहितको टोली रामेछाप आउने भएका छन् ।

तिलगङ्गाबाट आएको टोलीले निरीक्षण गरेपछि मात्रै भवन वरपर पुरिएको माटो हटाउने र नयाँ भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा छलफल हुने तामाकोसी अस्पतालका सचिव हिमाल ढुंगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय