
१६ भदौ, काठमाडौं । एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ। दल रोज्न निर्वाचन आयोगले यो भदौ २२ गतेसम्मको समयसीमा दिएपछि विभिन्न प्रदेशका एमाले सांसदले धमाधम आफ्नो कित्ता ‘क्लियर’ गरिरहेका हुन् । ओलीलाई विभिन्न प्रदेशमा झट्कै–झट्का लागीरहेको छ । विभिन्न प्रदेशका सांसदहरु केपी शर्मा ओलीको साथ छाड्दै माधवकुमार नेपाल तीर लाग्ने क्रम जारी छ ।
यसै क्रममा आज प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ । राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन् ।
यो क्रममा भदौ २१ गतेसम्म जारी रहनेछ। मंगलबार बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकै मन्त्रिमण्डलका सदस्य सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ सांसदले एमाले छाडेका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर खनालसहित १२ सांसदले एमाले छाडेर नेपाल नेतृत्वको नेकपा एसतर्फ सनाखत गरेका हुन् । नेकपा एस रोजेका सांसद लक्ष्मण लम्सालले बागमतीमा १४ देखि १५ जना सांसदले एमाले छाड्ने बताए। मंगलबार नेकपा एस रोज्नेहरूमा अबको मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डे पनि छन् ।
उता लुम्बिनीमा एमालेकी एकजना समानुपातिक सांसदले मात्रै माधव नेपालको पार्टी रोजेकी छन्। पाल्पाबाट समानुपातिकबाट निर्वाचित घर्ती मगरले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन् ।
घर्तीले दाङस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन्। प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहवरमा घर्तीले नेकपा एकीकृत समाजवादीतर्फ हस्ताक्षर गरी सनाखत गरेकी हुन् ।
लुम्बिनी प्रदेश सभाका एमालेका ३८ प्रदेशसभा सदस्यमध्ये घर्तीले मात्रै मंगलबार एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् । उनले अरु केही सांसद पनि नयाँ पार्टीमा आउने दाबी गरिन्। घर्तीले एकीकृत समाजवादी रोजेसँगै प्रदेश सभामा दलको संख्या ६ पुगेको छ। एमाले विभाजन गरेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए ।
साथै नेकपा एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।