
१५ भदौ, काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका विद्यालय पाँच महिनापछि सञ्चालनमा आउन थालेका छन्। मंगलबारबाट काठमाडौं उपत्यकाभित्र र बाहिरका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन हुन थालेको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारबाट सबै निजी तथा सामुदायिक विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी पढाउन अनुमति दिएको छ । जसअनुसार जोरपाटीस्थित सेन्टेनिअल माध्यमिक विद्यालय,गोकर्णको गोकर्ण माध्यमिक विद्यालय लगायत विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन भइरहेको छ ।
हुम्लाको जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीसीएमसी)ले जिल्ला भित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट जिल्लाभित्रका सबै निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यलय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले सोमबार बैठक बसी कोभिड संक्रमणमा कमी आएकाले कार्यविधि अनुसार सञ्चालन गर्न दिएको जानकारी दिए ।
त्यस्तै बारा जिल्लाको कलैया उपमहानगरपालिकाले पनि नगरभित्रका विद्यालय पनि सञ्चालन गर्ने अनुमति दिएको छ । उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत विजय अधिकारीले भदौ १६ गतेबाट विद्यालय सञ्चालन गर्न दिएको बताए । उनका अनुसार बाल कक्षादेखि १२ सम्मका तहलाई पढाउन दिइएको छ । उपमहानगरपालिकाभित्र ७२ वटा सामुदायिक र ४५ वटा नीजि विद्यालय रहेका छन्। जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि कक्षा कोठामा ३३ प्रतिशत विद्यार्थी राखी भौतिक उपस्थितिमा पढाई सञ्चालन गर्न अनुमति दिएको छ ।
जिल्लाको बागमती नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मिन प्रसाद उपाध्यायले जिल्लाले सञ्चालन गर्न अनुमति दिएपछि नगरपालिकाका सबै विद्यालय आइतबारदेखि सञ्चालनमा आएको जानकारी दिएका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरु पढाइबाट बञ्चित भएकाले पनि विद्यालय सञ्चालन गरिएको उनको भनाई छ । उनका अनुसार अहिले कक्षा कक्षा १ देखि ५ सम्म भौतिक उपस्थितिमा र माथिल्लो कक्षामा भने बिहान र दिउँसो गरी दुई सिफ्टमा पढाइएको छ। त्यस्तै सिन्धुपाल्चोक लगायत अन्य जिल्लामा पनि आंशिक रुपमा भौतिक उपस्थितिमै पढाई सञ्चालन भएका छन् ।
नेपालमा पुनः दोस्रो लहरको कोभिड–१९ संक्रमण फैलिएपछि गत वैशाख १६ गतेदेखि देशैभरि निषेधाज्ञा जारी भएको थियो। वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालयहरु चैतदेखि नै संचालनमा आएका थिएनन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रवक्ता नुरहरि खतिवडाले संक्रमण दरको अवस्थालाई हेरेर स्थानीय र जिल्लाले विद्यालय लगायत अन्य क्रियाकलाप सञ्चालन गर्न पाउने बताए ।
उनका अनुसार एकै समयमा भने देशभरीका विद्यालय सञ्चालन हुँदैन । जहाँ कम संक्रमणदर भइ जोखिम छैन। त्यहाँ स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ । यसमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सहजीकरण गर्नुपर्ने हुन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल रिसर्च युनिटका प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले केही समय संक्रमणदर स्थिर रहेर केही दिन यता दैनिक संक्रमित हुने संख्या कम भए पनि जोखिम भने नघटेको बताए । विश्व स्वास्थ्य संगठनले ५ प्रतिशत भन्दा तल संक्रमणदर रहेको अवस्थामा मात्रै जोखिम घटेको मान्ने गरेको र नेपालमा अहिले पनि संक्रमणदर १९ प्रतिशत रहेकाले जोखिम नघटेको डा.पुन बताउँछन् । संक्रमण जोखिम कम भएका र पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएमात्र विद्यालय खोल्नुपर्ने उनको भनाई छ । अन्यथा यसलाई वेवास्ता गरिए यहीँबाट कोरोना संक्रमण फैलिने उनले बताए ।