१३ भदौ, काठमाडौं । सप्तकोशी नदीमा आज पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको छ ।

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको छ । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ ।

निरन्तरको वर्षासँगै कोशीको बहाब बढ्दा श्रीलंका टापुको सुनसरी क्षेत्रमा नदीले कटान थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर आएको बताउनु भएको छ । उहाँका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाब बढेसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय