११ भदौ, धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका–४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार वडा नम्बर–४ का ८० र वडा नम्बर–७ का ५८ घर डुबानमा परेका हुन् ।

डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताए । कर्णाली नदीको बहावले टीकापुर नगरपालिका–५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ।

यसैगरी अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा लम्कीचुहा नगरपालिकामा दुईजना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बिहीबार राति घरमाथिबाट खसेर पहिरोले ७५ वर्षीय गोपाल चौधरी र उनकी श्रीमती ७२ वर्षीय गौरी चौधरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै अविरल वर्षापछि गोदावरी नदीले कटान गरेर गोदावरी नगरपालिका–४ रहेको काठे पुले र ४२ वर्षीय गणेशदत्त पाण्डेको टीनले छाएको एक कोठे किराना पसल र प्रतिक्षालय बगाएको छ ।

गोदावरी नगरपालिका–१२ हलौडेमा स्थानीय मानबहादुर धामीले ५–६ कठ्ठामा लगाएको धानबाली नष्ट गरेको छ ।

यसैगरी अविरल वर्षाका कारण नवलपरासी, नवलपुर, रुपन्देही र कपिलवस्तुका विभिन्न स्थान डुबानमा परेका छन् । रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवालगायतका अधिकांश भूभाग डुवानमा परेका छन् । मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा लगायतका स्थान डुबानबाट बढी प्रभावित छन् ।

यता, नवलपरासीको परासी बजार पनि पूर्ण रूपमा डुवेको छ भने बजारका सबै घरमा पानी पसेको छ । परासी बजारमा डुबानमा परेकाहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको छ ।

रूपन्देहीका तिनाउ, रोहिणी, कन्चन तथा कपिलवस्तुको वाणगंगा नदीमा जल सतह निकै माथि आएको छ । ती सबै ठाउँ जलमग्न भएकोले क्षतिको विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय