श्रावण ४ काठमाडौँ । नेकपा एमाले पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको १० औं केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नुभएको थियो । विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल(किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताउनु भएको छ ।
पार्टी केन्द्रीय कमिटीको आज बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको बताउनु भएको हो ।

नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उहाँले भन्नुभयो, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’ नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।’

साथै एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ । अर्को बैठक भोली दिउँसो तीन बजे बोलाइएको छ । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । छोटो समय बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । दश बुँदे सहमति अनुमोदन गरेपनि बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय