
१० भदौ, काठमडौं । नेपालले एक वर्षको अवधिमा करिब १ खर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा व्याज तिर्न खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालले ९४ अर्ब ८७ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा र व्याज भुक्तानीमा खर्च भएको छ ।
यो आर्थिक वर्षमा नेपालले कुल ३४९ अर्ब सार्वजनिक ऋण लिएको थियो । यसमध्ये आन्तरिक ऋण २ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । वैदेशिक ऋण भने १ खर्ब २५ अर्ब रुपैयाँ मात्र आउन सकेको छ । एक वर्षमा लिएको ऋणबाट तिरेको भुक्तानी घटाउँदा यो अवधिमा कुल सार्वजनिक ऋण थप भने २५५ अर्ब रुपैयाँ भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा भने कुल ५५९ अर्ब सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब रुपैयाँ लिने लक्ष्य सरकारले राखेको छ । यो बजेट अध्यादेशमार्फत आएको बजेटको लक्ष्य हो । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशलाई नयाँ सरकार गठनपछि भने परिमार्जन गरिँदैछ । सो प्रयोजनका लागि प्रतिस्थापन विधेयक ल्याउने तयारीमा सरकार जुटेको छ ।
नेपालको सार्वजनिक ऋण अब १७ खर्ब नाघेको छ । आर्थिक वर्ष २०७७÷७८ को सार्वजनिक ऋण सार्वजनिक गर्दै महालेखा नियन्त्रक कार्यालयले सो परिमाणमा ऋण पुगेको जनाएको हो ।
नेपालसँग अहिले आन्तरिक ९ खर्ब २५ अर्ब ऋण रहेको छ । बाह्यतर्फ भने ८ खर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ । नेपालले एसियाली विकास बैंक, विश्व बैंकजस्ता बहुराष्ट्रिय निकायबाट बढी ऋण लिने गरेको छ । नेपालको सार्वजनिक ऋणको वृद्धिदर भने तिब्र रहेको छ । पछिल्लो तीन वर्षयता सार्वजनिक ऋण दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७३÷७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब रुपैयाँ थियो । अहिले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत रहेको छ ।
नेपालले एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय सदस्यता शूल्कमा २५ करोड रुपैयाँ खर्च गरेको छ । असार २०७८ सम्म एक वर्षको अवधिमा २५ करोड ३६ लाख रुपैयाँ सो प्रयोजनमा नेपालले खर्च गरेको छ । यो कुल लक्ष्यको तुलनामा ५०.७२ प्रतिशत प्रगति हो । यो वर्ष सरकारले अन्तराष्ट्रिय संघ संस्थाको सदस्यता शूल्कका लागि ५० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।