
९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीका कारण निर्वाचनका वेला देखिएको सपना पूरा नभएको बताउनु भएको छ । ‘म आफैँले देशमा राजनीतिक स्थायित्व र विकासको निम्ति भनेर गठबन्धन र एकताको पहल लिएँ, तर आफैँले बनाएको प्रधानमन्त्री केपी शर्मा ओली चितवन र मप्रति नकारात्मक र पूर्वाग्रही भए, जसकारण निर्वाचनमा देखिएको सपनाअनुसार काम गर्न सकिएन,’ प्रचण्डले भन्नुभयो ।
भरतपुर महानगरपालिकामा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट निर्माण हुने भरतपुर मेट्रो प्लाजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै आज उहाँले गलत नेतृत्वका कारण निर्वाचनपछिको अवधि नेपालीका लागि राम्रो नबनेको समेत बताउनु भएको छ । साथै अध्यक्ष प्रचण्डले नयाँ सरकार आएसँगै चितवनको विकासको निम्ति वातावरण सहज भएको बताउनु भएको छ ।