
काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । क्लोज सर्किट सीसी क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो ।
यस विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । प्रदेश नं। २ प्रहरी उच्च स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको छ ।
रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै भएको अनुसन्धानले होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा लागूऔषध राखिएको देखिएको छ र संलग्नता नदेखिएपछि छाड्ने तयारी गरिएको स्रोतले बतायो ।
‘सबै वस्तुस्थितिले घटनामा पत्रकार मोहम्मदको संलग्नता देखिएन’ स्रोतले भन्यो । तर घटनामा प्रहरी मात्रै दोषी नभएको एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘पत्रकार महासंघको जिल्ला शाखाकै एक पदाधिकारीले व्यक्तिगत रिसिइबीका कारण दुई प्रहरी प्रयोग गरेर घटना गराएका रहेछन् ।’