
७ भदौ, काठमाडौं । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु आज विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुगेका थिए ।
छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । लामो समय माधवकुमार नेपाल समूहसँग रहेका, तर उहाँको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।
ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ । बालकोटमा भएको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ । प्रवक्ता प्रदीप ज्ञवालीले भने भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टीमा एकतामा देखा परेको समस्या समाधान हुने बताउनु भएको हो । उहाँका अनुसार भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने छ ।