
काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालले दल विभाजन गरेर अपराधपूर्ण काम गरेको टिप्पणी गरेका छन् ।माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले ९समाजवादी० पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन,– ‘हाम्रो गौरवशाली पार्टी ९नेकपा एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा आज केही व्यक्तिहरूबाट कालो धब्बा लगाउने घृणित र निन्दनीय काम भएको छ । दुःखका साथ भन्नुपर्दैछ –यो काम पार्टीमा लामो समय पार्टी प्रमुख भएर बस्नुभएका नेता माधव नेपालको अगुवाइमा भएको छ ।’
पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन यसबीच भएका अनगिन्ती प्रयासका बाबजुद एमालेको एकतावद्ध अवस्थामा प्रश्न उठाउने काम भएको उनको भनाइ छ ।
‘यसबीच पार्टीभित्रको एकतालाई कायम राख्न पटक पटक अपिल गरिएको छ । माधव नेपाल लगायत केही साथीहरूसँग यसबीच म आफैले पनि पटक पटक कुराकानी गरेको छु । छलफल गरेको छु । तर ती सबै निरर्थक बने,’ उनी भन्छन् ।
माधव नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने पार्टी विभाजन गरेको पोखरेलको गम्भीर आरोप छ । उनले भने, ‘एमालेका नेता , कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको छ,’
एमाले पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पोखरेलले बताए । ‘फुटको विगत हामी सबैले देखेका– भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका नेकपा एमालेका सम्पूर्ण नेता , कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल गर्दछु,’ उनको आग्रह छ ।
एमाले पार्टी तथा आन्दोलनलाई अगाडि बढाउन संकल्पवद्ध रहेको भन्दै दृढताका साथ अघि बढिरहने पोखरेलले बताए।