
काठमाडौं २ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो ।
शाक्यले आफूलाई सरकारले गैरकानूनी तरिकाले कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नियुक्त गरेको भन्दै रिट दायर गरेका हुन् । शाक्यले घिसिङको नियुक्ति बदर गरी आफूलाई नै कार्यकारी निर्देशकमा कायम राख्नु पर्ने माग गरेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् । गत साउन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई हटाएर घिसिङलाई नियुक्ती गरेको थियो ।