
३१ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई स्मार्ट सरकार दिनुपर्ने पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । कान्तिपुर इकोमिक समिट, २०२१ को तेस्रो सत्र ’संकटले सुझाएको बाटो’ विषयक छलफलका क्रममा थापाले सरकारले विज्ञका कुरा सुन्नुपर्ने, वास्तविकता देख्नुपर्ने र कम बोल्नुपर्ने पनि बताए ।
कोरोनाको तेस्रो लहर कस्तो होला भन्ने अहिले अनुमान गर्नसक्ने अवस्था नरहेको भन्दै थापाले सरकारले अहिले जसरी चलिरहेको छ त्यसरी नै काम चलाउने अवस्था नरहेको बताए ।
प्रधानमन्त्री देउवालाई थापाको सुझाव छ, ’हामी जुन स्मार्ट लकडाउन, स्मार्ट ऊ भन्छौं नि, हामीलाई स्मार्ट सरकार चाहियो ।’ सरकारको नेतृत्वले सत्य र तथ्यमा आधारित भएर काम गर्नुपर्ने थापाको भनाइ थियो । अघिल्लो सरकारले विज्ञका कुरा नसुन्दा, वैज्ञानिक तथ्यमा आधारित भएर नचल्दा र धरातलीय यथार्थ नबुझ्दा समस्या आएको थापाको भनाइ थियो ।
कोरोनाको पहिलो लहरमा सामान्य स्वास्थ्य सुविधा नभएर, परीक्षण किट्स नभएर समस्या भएको र दोस्रो लहरमा अक्सिजन नभएर समस्या भएकोबाट शिक्षा लिँदै तेस्रो लहरको तयारी गर्नुपर्ने थापाको सुझाव थियो । उनले तेस्रो लहरमा सरकारको तयारी अभावमा जनता समस्यामा नपरुन् भन्दै सुझाव दिएका हुन् ।